नेपाली सेनाका २ सय ४६ सैनिकलाई कोरोना संक्रमण

काठमाडौँ, नेपाली सेनाका दुई सय ४६ जनालाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।जेठ दोस्रो साता पहिलो केस देखिएकोमा संक्रमितमध्ये हालसम्म ८४ जना निको भएर फर्केका छन् । हालसम्म एक सय ६२ जना सेनाको आइसोलेसन वार्डमा उपचाररत रहेका छन ।

उपचाररत सैनिकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रदेश २ स्थित मध्यपूर्वी पृतनामातहतका सैनिकहरु सबैभन्दा बढी संक्रमित छन् । हालसम्म ‘प्रदेश २ र कर्णाली प्रदेशमा अलि बढी देखिएको छ । काठमाडौं उपत्यकामा जम्मा २० जना उपचाररत छन् । ’प्रवक्ता पौडेल भने ।जंगी अड्डामा भने अहिलेसम्म संक्रमित नभेटिएको पनि प्रवक्ता पौडेलले बताए ।

उपत्यकामा शिवपुरीस्थित अल्ले ब्यारेकमा कार्यरत सैनिकमा कोरोना पुष्टि भएको छ । पृतनापतिसहित पहिलो चरणका संक्रमित भएका सबै निको भएर कार्यक्षेत्रमा सक्रिय भइसकेका छन् । कोरोना पुष्टि भएका सैनिकहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ । गम्भीर प्रकृतिका बिरामी कोही पनि भएको जानकारीमा छैन, प्रवक्ता पौडेलले भने । विशेष गरी अग्रमोर्चामा काम गर्ने सैनिकहरूलाई कोरोना देखिएको छ ।

संक्रमित भएकामध्ये ब्यारेकबाहिर अग्रमोर्चामा खटिएका सैनिकहरू भएको सेनाले जनाएको छ ।शव व्यवस्थापनमा खटिएका सैनिकमध्ये सुरुमा तीनजनामा संक्रमण भेटिएपछि स्वास्थ्य प्रोटोकल नै परिवर्तन गरिएको सैनिक प्रवक्ता पौडेलको भनाइ छ । उनीहरुलाई सेनाले ब्यारेकभित्रै आइसोलेसन वार्ड राखेको छ । कन्ट्रयाक्ट ट्रेसिङका लागि सेनाले बेग्लै टिम तयार गरेको छ ।