दाङको गढवा गाउँपालिकामा उपाध्यक्ष र प्रशासकिय अधिकृत बीच लफडा
दाङ, देउखुरीको गढवा गाउँपालिकामा उपाध्यक्ष र प्रशासकीय अधिकृत बीच घम्साघम्सी भएको छ । दमकलको चालक र फायरमेनको सुचनाका बिषयमा उनीहरु दुबै बीच झगडा भएको र हातहालाहातको स्थिति सृजना भएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीले गाउँपालिकाको काम कार्वाहीमा मनोमानी गरेको र छलफलका लागि आफ्नो कार्यकक्षमा पटक पटक बोलाउँदा समेत अटेरी गरेको उपाध्यक्ष शान्ति चौधरीले आरोप लगाइएकी छिन् ।
अध्यक्ष औषधी गराउन बाहिर गएकोले सबै कुरा बुझ्न र कुरा राख्न पाइएन । तर अध्यक्षले आफ्ना मान्छे सुचना खुल्नु अघि नै राखी सकेको र प्रकृया पुरा गर्न मात्र सुचना खोलिएको उपाध्यक्ष चौधरीको दावी छ । दमकल चलाउनका लागि ड्राइभरको सुचना खोलेको थाहा पाएपछि उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतसंग कार्यकक्षमै गै कड्कीएको र अधिकृतले सुचनाको म्याद भाद्र १० गतेसम्म छ फारम भर्न इच्छुकलाई भर्न लगाउनुस भनेको प्रत्यक्षदर्शीले बताएका छन् ।यता उपाध्यक्ष शान्ति चौधरीले भने आफ्ना मान्छे पाँच महिना पहिले नै सेट गरेर प्रकृया पुरा गर्न सुचना खोलिएको बताएकी छिन् । फारम भर्न आउने मान्छेलाई सिट पुरा भै सकेको छ भनेर अधिकृतले फर्काइदिएको उनले आरोप लगाइन् । यो सरासर नियम संगत छैन, योग्यता पुगेको जो कोहिले पनि फाराम भर्न र परिक्षामा लड्न पाउँछ–उपाध्यक्ष चौधरीले भनिन् । यो बिषयमा छलफल गर्न तत्काल कार्यपालिकाको बैठक डाक्न भनेको छु उनले भनिन् ।
यसै बिषयलाई लिएर अध्यक्ष कार्यालयमा नभएका समयमा उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने योजनाका साथ ताल्चा किन्न भित्रैका जनप्रतिनिधी र कर्मचारीलाई पठाएको र उनीहरुले नमाने पछि आफै बजार गएर ताल्चा ल्याएको स्रोतले बताएको छ । यस्तो हुँदा पनि तपाइले समाचार नलेख्ने ? चुप लागेर बसिरहने ? कि त भित्रको सुचना र समाचार लेख्नुस होइन भने गाउँपालिका छोड्नुस–उपाध्यक्ष चौधरीले प्रेस संयोजक शिबराज पन्थीलाई पनि दम्काएको स्रोतले बताएको छ ।उपाध्यक्ष कार्यकक्षमै तात्तिएको देखेपछि म पनि कार्यालय छोडेर बाहिरिए प्रेस संयोजक पन्थीले भने । त्यस्तो केही होइन ।
गाउँपालिकाले साउन २८ मा दमकल चालक र फायरमेन तथा कुचिकार गरी ३ जनाको आवश्यकताको सुचना टाँस गरेको छ । भाद्र १० सम्म सुचनाको म्याद छ । इच्छुकलाई निवेदन हाल्ने समय छ । यो समयभित्र जसले पनि दर्खास्त हाल्न नियमले पाइन्छ भनेर–प्रेस संयोजक शिबराज पन्थीले उपाध्यक्ष चौधरीलाई जानकारी समेत गराएका थिए ।यस बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीलाई पटक(पटक फोन सम्पर्क गरेर बुझ्न खोज्दा फोन उठेन ।