देशभर ११८ जना कोरोना संक्रमित आईसीयूमा, ८ जना भेन्टिलेटरमा
काठमाडौ, देशभर ८ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमितको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको हो। संक्रमित सबैको बागमती प्रदेशमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै ११८ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन्। जसअनुसार प्रदेश १ मा ४ जना, प्रदेश २ मा ४६ जना, बागमतीमा ५२ जना, गण्डकीमा ६ जना र प्रदेश ५ मा १० जना संक्रमित छन्। कर्णली र सुदूरपश्चिम प्रदेशमा भने एक जना पनि संक्रमित आइसियूमा छैनन्।
आजको दिनमा १० हजार ५६२ कोरोना संक्रमित आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा ७ हजार ६७५ जना र होम आइसोलेसनमा २ हजार ८८७ जना संक्रमित छन््। संस्थागत आइसोलेसनमा प्रदेश नं १ मा ९७८, प्रदेश २ मा २ हजार ७६, बागमतीमा २५१४, गण्डकीमा २७९, प्रदेश ५ मा ७७९, कर्णालीमा २०८, र सुदूरपश्चिम प्रदेशमा ८३२ जना संक्रमित छन् ।
त्यस्तै होम आइसोलेसनमा प्रदेश १ मा १९७ जना, प्रदेश २ मा २ हजार ३४९, बागमतीमा १११, गण्डकीमा २७, प्रदेश ५ मा १७०, कर्णालीमा ८ र सुदूरपशिचममा २५ जना छन्। संक्रमितको संख्या बढ्दै गएपछि सरकारले होम आइसोलेसनको अनुमति दिएको हो।