पर्सामा चार नगर प्रमुखसहित १२ सय २५ जनामा कोरोना संक्रमण

पर्सा , पर्साका १४ पालिका मध्ये वीरगन्ज महानगरसहित ४ वटा नगरपालिकाहरूका नगर प्रमुख संक्रमित भएका छन्।  पर्साको सदरमुकाममा रहेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी संक्रमित भएपछि अन्य तीन नगरपालिकाका नगरप्रमुखहरु पनि क्रमशः संक्रमित भएका हुन्।

आइतबार मात्र पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। उनी सहित उनका परिवारका १४ जना सबैको रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख रौनियारले पनि बताए। ‘मलाइ हप्ता दिन अगाडी ज्वरो र खाँसी भएकोले थियो। शंका लागि सगोलमा रहेका परिवारका सबै सदस्यको स्वाब संकलन गराएकोमा सबैको रिपोर्ट पोजेटिभ आयो।’ उनले भने।

उनीसहित स्वाब संकलन गराउने पोखरियाका ३४ जना मध्ये ३३ जनाको रिपोर्ट टेकुबाट पोजेटिभ आएको रौनियारको भनाइ छ। पर्सामा आइतबार साँझ रौनियारसहित कुल ७६ जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्यसै गरी बाराका ३ महिला सहित १३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको नारायणी अस्पतालको कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा निरज सिंहले बताए। संक्रमित मध्ये केही चिकित्सक, स्वास्थ्यकर्मीसहित पोखरिया नगरपालिकाका मात्र ३३ जना संक्रमित थपिएको उनको भनाइ छ। त्यसै गरी जगरनाथपुर गाउँपालिकामा १५ जना नयाँ संक्रमित थपिएको डा सिंहले बताए। चार मेयर संक्रमित पोखरिया नगरपालिकाका मेयर रौनियारभन्दा अगाडी वीरगन्ज महानगरपालिकाका नगर प्रमुख ९मेयर० विजयकुमार सरावगी, पर्सागढी नगरपालिकाका नगर प्रमुख लोकनारायण यादव र बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साह संक्रमित भइसकेका थिए। पर्सा गढीका मेयर यादवलाई भने स्वाश प्रश्वासमा समस्या भएको लक्षण देखिएको थियो। उनी केहिदिन वीरगन्जको हेल्थ केयर अस्पतालमा भर्ना भए।

स्वास्थ्यमा सुधार नभएपछि हेलिकोप्टर चार्टर गरी काठमाडौं पुगेर उपचार गराइरहेका छन्। उनको त्यहाँ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ। वीरगन्जमा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो। त्यसै गरी बहुदरमाई नगरपालिकाका नगरप्रमुख साहको पनि पाँच दिन अगाडी रिपोर्ट पोजेटिभ आएको थियो। पर्सामा रहेका बाँकी १० वटा गाउँपालिका अध्यक्षहरु भने अहिलेसम्म सुरक्षित छन्। ती पालिकाका अन्य नागरिकहरुलाई भने कोरोना भाइरसले छोइसकेको छ। पर्सामा अहिलेसम्म १ हजार २ सय २५ संक्रमित साउन ३२ गते आइतबार साँझ सम्म पर्सामा कुल १ हजार २ सय २५ जना कोरोना संक्रमित भइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए। ‘संक्रमित मध्ये ९ सय ७७ पुरुष र २ सय ४८ महिला रहेका छन।’ उनले भने।

अहिले सम्म पर्सामा संक्रमित हुनेहरुमा १९ जना भारतीय नागरिक, ८२ जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ५ जना पत्रकार, ८३ जना कैदी र थुनुवा, ३२ जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयोगी रहेको नारायणी अस्पतालले जनाएको छ। ७९८ संक्रमणमुक्त, एक हजार भन्दा धेरैको रिपोर्ट आएन पर्सामा गएको चैत ३० गते पहिलो पटक ३ जना भारतीबाट संक्रमण सुरु भएयता कोरोना जितेर घर फर्केकाको संख्या पनि ७ सय ९८ रहेको छ। जसमा २ सय ३६ महिला र ५ सय ६२ पुरुष रहेका छन्। त्यसै गरी अहिले अस्पतालको आइसोलेसनमा १ सय २४ जना संक्रमित रहेका छन्। आइसोलेशनमा हुनेहरु मध्ये १ सय १ पुरुष र २३ महिला रहेको नारायणी अस्पतालले जनाएको छ। पर्सामा अहिलेसम्म १५ हजार ६ सय ५४ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साको रिपोर्ट साभार गरी जिल्ला प्रशासन कार्यालयले जनाएको छ। संकलित स्वाब मध्ये १ हजार १ सय २५ को रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।