नेपाल प्रहरीमा कोरोना : दुई डीआईजीसहित देशभर ६२० प्रहरी संक्रमित

काठमाडौं,  नेपाल प्रहरीका दुई डीआईजीसहित देशभर ६२० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  नेपाल प्रहरीको महाराजगन्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको हाे।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले प्रहरी अस्पतालमा कार्यरत प्राविधिक तर्फका दुई डीआईजीमा संक्रमण पुष्टि भएको जानकारी दिए। संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य छ। शनिबार बिहान आएको परीक्षण रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

देशैभर नेपाल प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ। फ्रन्टलाइनमा रहेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिने नेपाल प्रहरीका अहिलेसम्म ६२० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको प्रवक्ता कडायतले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म २४० जना संक्रमणमुक्त भएका छन्। ३८० जना उपचाररत छन्। प्रहरी प्रधान कार्यालयभित्र १५५ जनामा संक्रमण देखिएको छ। संक्रमित सबै प्रहरीको स्वास्थ्य सामान्य रहेको प्रहरी मुख्यालयले जनाएको छ।