तटबन्धनले गढवाको दर्जनौं बस्ती बच्यो कक्रहवा खोलामा बृहत तटबन्धन

देउखुरी , गत सालको साउनमा देउखुरीकाे गढवा – ७ मक्नहवा गाउँमा कक्रहवा खोला पस्नै आँटेको थियो । खोला किनाराका स्थानीयहरु आफ्ना बोरी बिस्तरा समेत बोकेर छिमेकी गाउँमा पुगे । खोला पसेपछि सिंगो गाउँ नै कटान र डुवानको उच्च जोखिममा पर्ने खतरा थियो । बर्षातको भेल बढेपछि स्थानीयहरु निकै सतर्क हुन थाले ।

स्थानीय सरकार र प्रहरीलाई तत्काल उनीहरुले खबर गरे । गाउँपालिकामा तत्काल बजेट नभएको र अर्कोबर्ष पहल हुने आश्वासन पाए । तर सो तटबन्धनका लागि नेपाल सरकारको बहुबर्षीय योजना कार्यान्वयन चरणमा थियो । त्यो बर्षको बजेट नआएपछि गाउँलेहरु ५२ घर मिलेर प्रतिघरधुरी एक हजारका दरले रकम संकलन गरे । संकलित रकमबाट जनताको तटबन्धन कार्यालयमा धाएर ५ हजार बढी बोराहरु ल्याए । त्यही बोरामा खोलाको गिट्टी भोरेर जंगलबाट झाला समेत बोकेर अस्थायी तटबन्धन गरी गाउँ बचाए । सो कार्यमा नेपाली सेना र प्रहरीले पनि पूर्ण रूपले साथ दियो ।

त्यसो त गढवाको वडा नं. ६ र ७ का १२ वटा गाउँका बस्ती कक्रहवा खोलाको कटान र डुवानको उच्च जोखिममा थिए । स्थानीय सामाजिक अगुवा हुमाकान्त सुबेदीको पहलमा पाँच बर्ष पहिले जिल्ला भु-संरक्षण कार्यालय, सिचाई डिभिजन कार्यालय र भू–संरक्षण मन्त्रालय धाएर अर्थ मन्त्रालयका पूर्व सचिव शान्तराज सेबेदीको पहलमा नेपाल सरकारको बहुबर्षीय योजना पास भयो ।

सोही योजना बमोजिम कक्रहवा खोला दुबै किनारका अत्तरबेदुवा, झाली, बनकट्टी, रामपुर, हाँसीपुर, दक्षिण मानपुर, उत्तर मानपुर, मक्नहवा, झारबैरा, मनिकापुर, तल्लो मदपुर र उपल्लो मदपुर लगायतका एकदर्जन बढी गाउँका बस्तीहरु बचाउन तटबन्धनको बहुबर्षीय योजना पास भयो र काम सुरु भयो । अहिले सबै गाउँहरु कक्रहवा खोलाको कटानबाट मुक्त भैरहेका छन् । कक्रहवा खोलामा बहुबर्षीय तटबन्धन यहाँका जनताहरुका लागि बरदान भएको स्थानीयहरुको भनाई छ ।

अत्तरबेदुवा र मनिकापुर देखि मक्नहवा झारबैरा सम्म दुवैतर्फ गरी १२ किलोमिटर बढी खोला तटबन्धनको बहुबर्षीय योजना कार्यान्वयन झण्डै अन्तिम चरणमा पुगेको छ । अबको झण्डै डेढ दुइ बर्षमा बाँकी रहेका गाउँहरु झारबैरा, शान्तीपुर र लक्षिनपुरमा पनि तटबन्धनको योजना सम्पन्न हुने स्थानीय अगुवा हुमाकान्त सुवेदीको भनाई छ ।

यता यसबर्ष सो ठेक्कामा काम गरेका बुद्ध निर्माण सेवा कण्ट्रक्सन प्रालिका प्रो. म्यानेजर तथा संञ्चालक रामबाबु चौधरीले तटबन्धन गर्न ढुंगाको ठूलो समस्या खड्किन थालेको बताए । जिल्लामा ढुंगा नपाएर प्यूठानबाट समेत ढुंगा बोकेर काम गरे । यस बर्ष अन्दाजी ३ किलोमिटर तटबन्धनको काम भयो । मक्नहवा गाउँमा खोलो पस्ने खतरा मुक्त भयो अब झारबैरा तर्फको काम यसबर्ष पुरा हुने सञ्चालक चाैधरी बताए । सिचाई डिभिजन कार्यालय तुलसिपुर मार्फत हाल काम भै रहेको उनले भने । यस बर्षको २८ करोडको बजेट मध्ये संघको पैसा नआएर ६ करोडको काम मात्र भयो ।

करिब डेढ करोड मात्र भुक्तानी पाइयो । लेबर मिस्त्री बुझाउन पनि हम्मे-हम्मे भएको छ, उनले भने । बजेट पर्छ एनकेन मेटेरियल खोजेर काम गरिन्छ तर भुक्तानीमा समस्या आउदा कामगर्ने जाँगर नै मर्छ–चौधरीले गुनासाे गरे । कक्रहवा खोलाको तटबन्धन दर्जनौं गाउँका लागि बरदान भएको छ । खोला बटानले धेरै गाउँ बस्तीहरु जोखिममा थिए ।

सुरुवातमा झण्डै चारबर्ष पहिले नेपाल सरकारका तात्कालिन अर्थसचिव शान्तराज सुवेदीसंग हामीले निकै पहल गर्यौं । केन्द्रमा बारम्बार धाएपछि उहाँको सकारात्मक पहलबाट बहुबर्षीय तटबन्धनको गुरुयोजना पास भयो । अहिले यो तटबन्धन हजारौं जनताका लागि बरदान भएको छ–स्थानीय समाजसेवी हुमाकान्त सुबेदीले भने ।