बैतडीमा जिप दुर्घटना, २ घाइते

बैतडी , शनिबार अपराह्न बैतडीमा जिप दुर्घटना भएको छ। महाकाली राजमार्गअन्तर्गत सिल्लेगडा नजिक भएको दुर्घटनामा २ जना घाइते भएका छन्। घाइते हुनेहरुमा दोगडाकेदार ३ श्रीकोट सिल्लका जिपधनी ४२ वर्षीय दशरथचन्द र श्रीकोटकै उस्कला भन्ने ठाउँका ४० वर्षीय करन ऐरी छन्। घाइते दुवैको अवस्था खासै चिन्ताजनक नरहेको खोचलेक प्रहरी चौकीका इन्चार्ज सई मोती बमले जानकारी दिए।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। सिल्लेगडाबाट खोचलेक गइरहेको से१ज ३२८ नम्बरको जिप अपराह्न ४ बजे सिल्लेगडा नजिकैको मोडमा दुर्घटनामा परेको हो । जिप सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन। जिपधनी दशरथचन्द आफैंले जिप चलाएका प्रहरीले बताएको छ। दुर्घटनाग्रस्त जिपमा २ जनामात्रै सवार रहेका खोचलेक प्रहरी चौकीले जनाएको छ ।