लागुऔषध मुद्दाका फरार आठ वर्षपछि पक्राउ
तनहुँ, लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा गरेको फैसलाले आठ दिन कैद र रु चार हजार जरिवाना तिर्न बाँकी रही फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको हो । कैद र जरिवाना तिर्न बाँकी रहेका निज घर्तीको खोजतलास गर्ने क्रममा सम्बन्धित घर बतनमा नै लुकीछिपी बस्दै गरेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाएको उनले बताए । त्यसैगरी माक्स प्रयोग नगरी हिँड्ने एक हजार ४७ जनालाई कारवाही गर्दा रु एक लाख चार हजार ७०० राजस्व सङ्कलन भएको छ । हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशन बमोजिम यस जिल्लामा पनि सचेतना कार्य थालिएको छ ।
पछिल्लो समयमा उक्त कोरोना भाइरस अनपेक्षितरुपमा फैलिँदै आएकाले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको अवस्थालाई मध्यनजर गर्दै माक्सको प्रयोगमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।