अन्ततः केपी ओली एक कदम पछि हटे

काठमाण्डौँ, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडान लिएका नेकपा अध्यक्ष केपी ओली अन्ततः एक कदम पछि हट्न तयार भएका छन् । उनले पार्टी अध्यक्ष छोड्न तयार रहेको तर त्यसको लागि आफूलाई सर्वमान्य नेता बनाइनु पर्ने शर्त अगाडि सारेका छन् ।

स्रोतका अनुसार केही दिन देखि संवादहिनताको अवस्था रहेकोमा ओलीले पार्टी अध्यक्ष छोड्न तयार रहेको जानकारी गराएपछि अर्का अध्यक्ष प्रचण्ड तथा माधव नेपाल पक्ष सकारात्मक देखिएका छन् । तर, ओलीलाई सर्वमान्य नेता स्विकार गर्ने कि नगर्ने भन्ने विषयमा भने नेताहरु बिच सहमती भैनसकेको बताइएको छ । ‘अब छलफल यही विषयमा केन्द्रित भएको छ, एक दुई दिन भित्र सबै कुरो टुंगो लाग्छ । जे भए पनि अब पार्टी नफुट्ने लगभग निश्चित भयो’ ओली निकट एक नेताले भने ।

ओलीले विहिबार एक टेलिभिजन अन्तरवार्तामा विहिबारदेखि गणना हुने गरि पांच दिनभित्रै पार्टी भित्रको समस्या समाधान हुने दावि गरेका थिए । स्रोतका अनुसार आफूले राखेको प्रस्तावमा प्रचण्ड पक्षका नेताहरु लचिलो रहेको पाएपछि ओलीले त्यो दावि गरेका हुन् ।

त्यसलगत्तै आज साढे ११ वजेतिरबाट प्रधानमन्त्री निवास वालुवाटारमा शुरु भएको दुई अध्यक्ष केपी ओली र प्रचण्ड बीचको वार्ता यी समाचार लेख्दासम्म जारी छ । ओली पक्षको प्रस्तावमा प्रचण्डसहितका नेताहरु लचिलो देखिए पनि वरिष्ठ नेताद्धय माधव नेपाल तथा झलनाथ खनालको धारणा भने अहिलेसम्म आइसकेको छैन । स्रोतका अनुसार ओलीले उनीहरु दुवैलाई अहिलेकै हैसियत ‘वरिष्ठ नेता’ मान्ने र अरु विषय महाधिवेशनले टुंगो लगाउने प्रस्ताव गरेका छन् ।