भदौ १ बाट कर्णाली प्रदेशमा प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेेेत,कर्णाली प्रदेश सरकारले आगामी साेमबार भदौ १ गतेदेखि कर्णाली प्रदेश  प्रवेशमा कडाई गरेको छ । कोरोना जोखिम बढेको भन्दै कर्णाली सरकारले प्रबेशमा कडाइ गरेको हो ।

बिहिवार बसेको विपद व्यवस्थापन केन्द्र (पिसिएमसी) को  बैठकले स्वदेश तथा विदेशबाट आएका जाे सुकैलाई  प्रवेशका लागि पिसिआर परीक्षणकाे रिपाेर्ट अनिवार्य गर्ने निर्णय गरेकाे हाे।

 मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले मुलुकभित्रबाट र विदेशबाट आउने नेपाली नागरिकलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने र प्रवेशका लागि कम्तीमा तीन दिन अगाडिको पिसिआर रिर्पोट अनिवार्य रुपमा लिने निर्णय पनि गरेकाे छ।

सुर्खेत जिल्लाबाट अतिआवश्यक सरकारी कामले जानुपर्दा र सो बाहिरी स्थानबाट भित्रिँदा सरकारी कर्मचारी र जनप्रतिनिधिले समेत पिसिआर गराई मात्र बाहिर जिल्ला जाने र भित्रिने निर्णय भएको सामाजिक मन्त्रालयले जनाएको छ।

मास्कको अनिवार्य रुपले प्रयोग गर्ने गराउने र बबईबाट प्रबेश गर्नेहरूलाई राति बन्द गरिएको जनाइएको छ । साथै समुदायमा मास्कको व्यवस्था स्थानीय तहले मिलाउने बताइएको छ।

मास्क नलगाए कारबाही हुने बताइएको छ । भारतबाट आउने नेपाली नागरिकलाई अनिवार्य रुपमा सीमा नाकाको क्वारेन्टिनमा राख्ने तथा क्वारेन्टिनको क्षमता भन्दाबढी राख्नु पर्ने अवस्था भएमा मध्यपश्चिम विश्वविद्यालयको भवनलाई पनि प्रयोग गर्ने वैकल्पिक व्यवस्था मिलाउने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले समन्वय गरी आवश्यक कार्य गर्ने गराउने निर्णय भएको जनाइएको छ । 

याे निर्णयसँगै भदाै १ गतेबाट पैदलयात्रीले पनि राति कर्णाली प्रदेश जान पाउने छैनन्।