सप्तरीमा कोरोनाबाट एक जनाको मृत्यु
राजविराज- कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्धाको मृत्यु भएको हो ।
चार दिनअघि ज्वरो आएपछि गरिएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार आएको थियो । कोरोना पोजिटिभ देखिएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा ल्याउने क्रममा बाटोमै मृत्यु भएको चढेलगत्तै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
ज्वरो आएर थलिदासमेत अस्पतालहरुमा बेड नपाएकै कारण मृत्यु भएको भन्दै उनका आफन्तहरुले आक्रोश ब्यक्त गरेका छन् । अस्पतालहरुमा बेड खाली नभएपछि उनलाई रिपोर्ट नआउदासम्म होम क्वारेन्टिनमा बस्न भनिएको थियो । रिपोर्ट आएपछि बल्ल अस्पताल लैजान खोज्दा बाटोमै मृत्यु भएको हो ।
उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए । योसँगै सप्तरीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । यसअघि जिल्लाको रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुषको साउन १९ गते र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धको साउन १ गते कोरोनाकै कारण मृत्यु भएको थियो ।