पाटन अस्पतालमा एक र बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ललितपुरको पाटन अस्पतालमा एक र बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा जनकपुरकी २८ वर्षीया महिलाको उपचाररकै क्रममा ज्यान गएको हो । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।
यस्तै बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो । गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।
दुवैलाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार शुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन् । २५ वर्षीय तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो । तेलीको स्वाबको पीसीआर परीक्षण नभएको र अब गरिने डा. थापाले बताए ।
बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि अस्पतालमा सैनामैनाका बाबुराम थापाको मृत्यु भएको थियो । तर उनको रिपोर्ट कोरोना नेगेटिभ आएको थियो ।