तत्काल क्वारेन्टाइन सञ्चालनमा गर्न नागरिक समाजद्धारा गाउँपालिकालाई ध्यानाकर्षण–पत्र

देउखुरी,नागरिक समाज गढवाले मंगलबार गढवा गाउँपालिकामा ध्यानाकर्षण–पत्र बुझाएको छ । समाजका संयोजक मोहन कुमार पाण्डेय र सचिव जया बिश्वकर्मा सहितको टोलिले गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र निमित्त प्रशासकीय प्रमुख शम्भूराज आचार्यलाई ध्यानाकर्षण–पत्र बुझाएको हो ।

 

ध्यानाकर्ण–पत्रमा कोभिड १९ को महामारीले छिमेकी देश भारत र नेपालमा समेत ब्यापक रुप लिईरहेको अबस्थामा स्थानीय सरकारहरुले क्वारेण्टाइन बन्द गरि भारत लगायत तेस्रो मुलुकबाट स्वदेशमा आउने नागरिकहरुलाई होम क्वारेण्टाइनमा बस्न आग्रह गरेको कुरा बिबेकपुर्ण निर्णय नभएको भन्दै तत्काल क्वारेण्टाइन स्थापना र ब्यवस्थापन गर्न आग्रह गरिएको छ ।

यसैगरि कोभिड महामारीको बेला गाउँपालिकाद्धारा स्थापित बिपद् प्रतिकार्य र राहात वितरण कोषको २ करोड र संघसंस्थाले प्रदान गरेको रकमको खर्च सार्वजनिक गर्न र हाल होम क्वारेण्टाइनमा बसेका नागरिकहरुको अभिलेख दुरुस्त गरि उनिहरुको पिसीआर चेक जाँचको ब्यवस्थागर्न माग गरिएको छ ।

समाजका संयोजक मोहन कुमार पाण्डेयद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कोरोना संक्रमणबाट उच्च सतर्कता अपनाउन सचेत रहन तथा लकडाउनको मारमा परेका ब्यापारि ब्यवसायिहरुको सटरबाहाल कर छुट गर्न समन्वय गरिदिन र गाउँपालिकाका ब्यापारिक सटरहरुको भाडामा केहि प्रतिशत छुट गर्न आग्रह गरिएको छ ।

गढवा गाउँपालिकाले यसबर्ष सम्पन्न गरेका वडा स्तरका बिकास योजनाहरुको भुक्तानी दिन बिलम्ब गरेकोले नागरिकहरुलाई समस्या भएको भन्दै यथाशिघ्र समस्या समाधान गर्न सो पत्रमा अनुरोध गरिएको छ । यसैगरी गढवा गाउँपालिकाको बितेको आब का बिकास योजनाहरु र चालु आबका बिकास योजनाहरु र बजेटका बारेमा नागरिकहरुलार्य सु–सुचित गर्न समेत ध्यानाकर्षण पत्रमा आब्हान गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले नागरिक समाजले राखेका जायज मागहरुलाई कार्यपालिकामा छलफल गरि कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।