कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुर, धनुषामा थप एक जना ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत विदेह नगरपालिकाका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या थियो ।

दमको समस्या बढेपछि २० दिनअघि उपचारका लागि जनकपुर ल्याइएका उनको खकारको परीक्षण गर्दा क्षयरोग देखिएको प्रादेशिक अस्पताल कोभिड–१९ उपचार केन्द्र संयोजक डा जामुनप्रसाद सिंहले बताए । डा सिंहले जारी गरेको स्वास्थ्य बुलेटिनमा ती पुरुषको कोरोना र निमोनियाका कारण मृत्यु भएको उल्लेख छ ।

क्षयरोगको उपचार भइरहेको उनको स्वाब ८ दिनअघि परीक्षण गर्दा पोजिटिभ पुष्टि भएको थियो । निमोनिया र मिर्गौलामा पनि गम्भीर समस्या थियो डा सिंहले भने,‘दुई दिनदेखि स्वास्थ्य अवस्था झन बिग्रियो । हामीले मेहनत गर्दागर्दै उनको मृत्यु भयो ।