कोइलाबासमा आम्दाले स्वास्थ्य भवन बनाउदै एक कार्यक्रमका बिच भवनको शिलान्यास

देउखुरी, आम्दा नेपाल मातृशिसु स्वास्थ्य परियोजनाले नेपाल भारतको सिमाक्षेत्र कोइलाबासको खबरी नाकामा सामुदायिक स्वास्थ्य भवन बनाउन थालेको छ । परियोजनाको चालु आर्थिकबर्षको कार्यक्रमको २१ लाख बजेटबाट सो भवन बनाउन आरम्भ गरिएको कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिनुभयो । सो स्थानमा स्वास्थ्य भवन बन्ने भएपछि अबका दिनमा स्वास्थ्य सेवाका लागि त्यहाँका नागरिकहरुलाई सामान्य उपचारकालागि पनि भारतमै धाउनुपर्ने बाधयता हट्ने गढवा गाउँपालिकाले जनाएको छ ।

 

कोइलाबासमा स्वास्थ्य चौकी छ तर पैदल हिडेर स्वास्थ्य सेवा लिन जाँदा २ घण्टा समय लाग्छ । त्यो भन्दा छिटो भारतको बालापुर पुगिन्छ–स्थानीय समाजसेवी चन्द्रबहादुर बुढामगरले भन्नुभयो । सामान्य रुघाखोंकी लाग्दा पनि भारतकै भर पर्नु पर्दथ्यो । अब गाउँमै स्वास्थ्य भवन बन्ने भएपछि हामीलाई उपचारका लागि सजिलो हुने भएको छ–स्थानीय मनमाया गुरुङले भन्नुभयो ।

यहाँ न त मोबाइलको टावर लाग्छ,न त सिटामोल नै पाइन्छ,सामान्य ज्वरो आउँदा पनि सिटामोल किन्न कि त भारतमा जानु पर्दछ कि त २ घण्टा हिडेर कोइलाबासमा पुग्नु पर्दछ । गाउँमै स्वास्थ्य संस्था बन्न थालेपछि त्यहाँका आम नागरिकहरुको मनमा खुसी छाएको छ–वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीले भन्नुभयो । बिद्युत्त सेवाबाट बञ्चीत यस गाउँमा बिद्युत्त पुरयाउन वडा र गाउँपालिकाको पहलमा काम सुरु भएको छ ।

आम्दा नेपालले गढवाको कालाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवन बनाउदै गरेको छ भने कोइलाबासको अति दुर्गम क्षेत्र खबरी नाकामा पनि गाउँघर क्लिनीकको भवन बनाउन सुरु गरेको छ । जहाँ कोइलाबास बजारबाट २ घण्टा पैदल हिडेर मात्र सो गाउँमा पुगिन्छ । सो स्थानमा स्वास्थ्य भवन बनेपछि गाउँपालिकाले स्वास्थ्यकर्मि खटाएर स्वास्थ्य सेवा प्रबाह गर्न सक्ने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।

यसैबिच आम्दा नेपालले खबरी नकामा बनाउन थालेको स्वास्थ्य भवनको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । गढवा गाउँपालिका वडानं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकी र आम्दा नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले सोमवार उक्त भवनको शिलान्यास गर्नुभएको हो ।