डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि

पर्सा, पछिल्लो २४ घण्टामा दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा २२ महिला र अरू पुरुष छन् भने ३ वर्षदेखि ७६ वर्षसम्मका छन् ।संक्रमित हुनेहरुमा दुई डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सर्वसाधारण रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिएका छन् ।

संक्रमितमध्ये नेसनल मेडिकल कलेज वीरगञ्ज का दुई डाक्टरसहित तीन कर्मचारी, नारायणी अस्पतालकै तीन स्टाफ नर्स र दुई कार्यालय सहयोगी र एक जना सशस्त्र प्रहरी रहेका छन् ।

यस्तै वीरगञ्जकै भवानी हस्पिटलका ६ कर्मचारी पनि रहेको बताउँदै उपाध्यायले ती चिकित्सक हुन् वा के भन्ने खुल्न बाँकी रहेको बताएका छन् ।