विवाह गर्छु भन्दै बलात्कार गर्ने युवा पक्राउ
काठमाडौँ, विवाह गर्छु भनी फकाएर जबरजस्ती करणी बलात्कार गर्ने युवा पक्राउ परेका छन् । उनले पीडितसँग गहनासमेत ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका ६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका ७ घर भएका ३० वर्षीय राजन विश्वकर्मा रहेका छन् । घटनाको अनुसन्धान गर्ने क्रममा उनले महिलालाई केही महिनादेखि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ बताएर भेटघाट सुरु गरेका थिए ।
उनीहरुले गत साउन १६ गते प्रेम विवाह गरी २१ गतेसम्म थानकोट चेकपोष्टस्थित डेरामा बसेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिए । राजनले साउन २२ गते पीडित महिलाको नगद २ लाख रुपैयाँ, २ तोला बराबरको सुनको गहना तथा मोबाइल लिएर फरार भएका थिए ।
उनीविरुद्ध महिलाले जबरजस्ती करणी तथा ठगी कसुरको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।