मध्यरातमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण २७, मंगलवार ०७:२०
प्रकासित समय : ०७:२०
धनगढी- डोटीको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
सोमबार राति करिब एक बजे स्थानीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।राति सुतेका बेला भत्किएको घरमा पुरिएर लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी इन्द्र मल्लका अनुसार भत्किएको घर माटो ढुंगाबाट बनेको तीन तले थियो । घर भत्किन थालेपछि केहि भाग्न आगनमा निस्किए पनि आगनमै थिचेको अवस्थामा केहिको शव भेटिएको उनले बताए ।