कोटेश्वरको असर्फीमा १६ संक्रमित भेटिएपछि गरियो शिल

काठमाडौं, काठमाडौंको सबै भन्दा बढी जाम र बाक्लो जमघट हुने गरेको कोटेश्वरको असर्फीमा १६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।कोटेश्वरको सेतीओपी मार्गस्थित असर्फी टोलका १६ जनामा कोरोना भायरस संक्रमण फेला परेपछि आइतबार रातिदेखि नै उक्त टोललाई शिल गरिएको काठमाडौं महानगरपालिका–३२ का वडा सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोल अनुसार थप १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ । तीन जनालाई भने उनीहरूकै घरमा राखिएको छ । शुरूमा किराना पसल सञ्चालकमा कोरोना देखिएको थियो ।

संक्रमित हुने अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन् ।सो क्षेत्रका १४० जनाको स्वाब परीक्षण गर्न पठाएको र तीमध्ये अहिलेसम्म ११० जनाको रिपोर्ट आउँदा १६ जनामा संक्रमित भेटिएको न्यौपानेले जानकारी दिए ।

टोलमा ठूलो संख्यामा संक्रमित भेटिएपछि अन्यलाई अत्यावश्यक कामका लागि बाहिर निस्किने परे सुरक्षा बिधि अपनाउन सचेत गराइएको र पसलहरु खोल्न नदिइएको पनि न्यौपानेले बताएका छन् ।

संक्रमित भेटिएपछि सो क्षेत्रमा माइकिङ्ग नै गरेर सचेत गराएको बताउँदै न्यौपाने भन्छन्, ‘तर मान्छेहरु बाहिर निस्किरहनु भएको छ, हामीले सकेसम्म नियन्त्रण गर्न खोजेका छौं, संक्रमणको यो जोखिमलाई उहाँहरुले पनि बुझ्नु पर्छ ।’