पहिरोमा पुरिएर बैतडीमा आमा-छोराको मृत्यु

बैतडी, सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुर्दा बैतडीमा आमा–छोराको ज्यान गएको छ ।

पहिरोमा पुरिए बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमा–छोराको मृत्यु भएको हो । बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसनचन्दले जानकारी दिएका छन् ।

राति सुतिरहेको समयमा अचानक आएको पहिरोमो च्यापिएर दुवै जनाको मृत्युु भएको हो भने सोही घरको अर्को कोठामा रहेका दुुई जना भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि धामीगाउँ प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयले दुवै जनाको शव निकालेका छन् भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताएका छन् ।