उपत्यकाका तीनवटै जिल्ला १५ दिनको लागि ‘सटडाउन’
काठमाडौँ , उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने बताइएकाे छ ।
कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर तत्काल लकडाउन भने नहुने उनको भनाइ छ ।
शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको पाण्डेले बताइन् ।
सिडिओ पाण्डेले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विषेश कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेले बताइन् । उनले भनिन्, ‘बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएको छ ।
पछिल्लो समय काठमाडौंमा कोरोना भाइरस तीव्र रुपमा फैलिइरहेको छ। बुधबार काठमाडौं उपत्यकामा १०२ संक्रमित भेटिएका थिए भने बिहीबार ६२ जना भेटिएका थिए। यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयले भीड बढाउने कुनै पनि कार्यक्रम नगर्न अपिल गरिसकेको छ।