बाँकेमा स्वाब संकलन गर्ने भाइरल ट्रान्सपोर्ट भिटिएम अभाव

बाँके, कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने भाइरल ट्रान्सपोर्ट भिटिएम बाँकेमा अभाव भएको छ। स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम उपलब्ध गराउन नसकेपछि स्थानीय तहले आफैँ खरिद गरी स्वाब संकलनका लागि दिने गरेका छन्।

स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम नदिएपछि स्थानिय तहले आफै संकलन गरेर दिने गरेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले बताए। उनले दुई सय थान भिटिएम माग गरे पनि स्वास्थ्य कार्यालयले ८० थानमात्र दिएको बताए। उप–महानगरपालिकाले वडाध्यक्षसहित आठ जना कर्मचारीको परिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करिब दुईसय जनाको स्वाब सङ्कलनका लागि मङ्गलबार स्वास्थ्य कार्यालयसँग माग गरेको थियो।

स्वाब दिनका लागि वडा अध्यक्षका परिवारका सदस्य र सम्पर्कमा रहेका ब्यक्तिलाई कार्यालयमा बोलाएका थियौँ, तर भिटिएम अपुग भयो। पछि उपमहानगरले आफै खरिद गरि स्वाब संकलन गर्‍यौँ,’ चन्दले भने। उनले स्वास्थ्य कार्यालयले नदिएपछि एक सय २० थान भिटिएम आफैँले खरिद गरेको बताए। जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका परिवार गरि एक सय ९८ जनाको स्वाब संकलन गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अंगदबहादुर शाहीले पनि बाँकेमा भिटिएम अभाव भएको बताए। उनले कार्यालयमा भिटिएम नभएका कारण माग अनुसार दिन नसकेको बताए। दैनिक डेढ सय भिटिएम आवश्यक पर्ने बताउँदै उनले प्रदेश सरकारले २० साउनमा तीन सय थान भिटिएम पठाएको बताए।