सप्तरीमा कोरोनाको जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु
काठमाडौँ ,सप्तरीमा कोरोना भाइरसको जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलेसियाबाट आएर होम क्वारेन्टिनमा रहेका १ जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जना पुरुष रहेका छन् ।
डेढ महिनाअघि मलेसियाबाट आएका सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ गढियाका ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानतर्फ पठाइएकामा उनको बाटोमै मृत्यु भएको हो ।
यस्तै, छिन्नमस्तामा अस्पतालमा उपचार गराइरहेका डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धको मृत्यु भएको हो । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार मृतक ३ जनाको स्वाब संकलन गरि परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको छ ।