सरकारलाई बिज्ञको सुझाब दुई साता लकडाउन गर्नुपर्छ

काठमाडौं, सरकारलाई बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि फेरि दुई साता लकडाउन गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरु र प्रमुख प्रतिपक्षी दलका नेताहरुसहित गरेको छलफल तथा परामर्शमा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणको उपाय खोज्न आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल गरेका थिए ।

सीसीएमसीका पदाधिकारी र विभिन्न विज्ञसहितको सो छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेता महन्थ ठाकुर पनि सहभागी थिए ।

लकडाउन घोषण भएको खण्डमा पनि सरकारले त्यसबीचमा प्रभावकारी काम गर्नु पर्ने, यसअघिका लकडाउनको त्रुटीहरुलाई सच्याउँदै अगाडि बढ्न पर्ने विज्ञहरुको सुझाव छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीलाई सरकारको विरोध गर्ने अवसरका रुपमा लिएको प्रति दुःख व्यक्त गरेका छन् । लकडाउन लगाउँदा किन लगाएको ?  खोल्दा किन खोलेको रु र फेरि किन नलगाएको जस्ता प्रश्नहरु गर्दै सरकारको एकोहोरो आलोचना गर्नु अनुचित भएको ओलीको भनाइ छ ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समुदायमा कोरोना संक्रमणको स्तर हेरेर लकडाउन गर्ने वा नगर्ने निर्णय लिन सरकारलाई सुझाव दिएका छन् ।

छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत पनि सहभागी थिए । ठाकुरले भने लकडाउन थपेर मात्रै समस्याको समाधान नहुने औल्याउँदै सरकारको योजना के छ भनी प्रश्न गरेका थिए ।