रूपन्देहीमा क्वारेन्टाइनमा गार्ड बसेका युवकले आफैंमाथि लगाए आगो

रुपन्देही, रूपन्देहीको देवदहस्थित क्वारेन्टिनमा गार्ड बसेका एक युवकले आफ्नै जिउमा आगो लगाएका छन्।  देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित नेपाल मगर संघको नगर भवनस्थित क्वारेन्टिनमा गार्ड बसेका २४ वर्षीय विपिन बस्यालले आफ्नो शरीरमा आफैंले मट्टितेल खन्याएर आगो लगाएका हुन्।

आत्महत्या प्रयास गरेका युवाको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले राति करिब ३ बजेतीर मट्टीतेल खन्याएर आत्महत्या प्रयास गरेको जानकारी पाएपनि आफू बाहिर रहेकोले युवाको अवस्थाबारे बुझ्न अहिले अस्पताल जाँदै गरेको बताए।

देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना महामारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टाइनमा काम गर्दै आएका थिए।

उनले किन आफ्नै शरीरमा आगो लगाएका हुन् भन्ने खुल्न सकेको छैन। शरीरको धेरै भाग जलेको र उनी बोल्न सक्ने अवस्थामा नरहेकोले सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताएको छ।