काश्मीरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर : राजदूत मजहर जावेद

काठमाडौं, नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मीरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गरेका छन् ।

भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा भएका सन्दर्भमा यहाँस्थित पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आज दूतावासमा आयोजना गरेको कार्यक्रममा उनले काश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै समस्याको शीघ्र समाधान खोजिनुपर्नेमा जोड दिए ।

राजदूत जावेदले बितेका एक वर्षमा भारत प्रशासित काश्मीरमा मानवाधिकार उल्लंघनका धेरै घटना भएका र त्यसको जानकारी अन्तरराष्ट्रिय समुदायलाई समेत भएको बताउँदै काश्मीरीको आत्मनिर्णयको अधिकारको सुनिश्चितता तथा निष्पक्ष एवं स्वतन्त्र जनमतसङ्ग्रहका लागि सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे ।

“दक्षिण एसियाको शान्ति, प्रगति र स्थायित्वका निम्ति काश्मिर समस्याको शीघ्र समाधान हुनुपर्छ, काश्मीरी जनतासँग पाकिस्तान सरकारको समर्थन छ”, सत्तरी वर्षदेखिको द्विपक्षीय समस्याले दक्षिण एशियामा अस्थिरता निम्तिएको बताउँदै उनले भने ।