बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ जना घुससहित अख्तियारको फन्दामा
नेपालगन्ज, बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना कर्मचारीलाई घुससहित रंगेहात रुपन्देहीबाट पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा अख्तियारले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई ९ लाख श्रोत नखुलेको रकमसहित रुपन्देहीको सैनामैनाबाट पक्राउ गरेको हाे ।
उनिहरूबाट नगद ३ लाख ४८ हजार र बैंकमा जम्मा गरेको ५ लाख ५० हजारको बैंक भौचरसहित झन्डै ९ लाख श्रोत नखुलेको रकमसहित रुपन्देहीको सैनामैनाबाट पक्राउ गरेको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
सुचना अधिकारी भुसालका अनुसार भट्टराई र रोकायलाई श्रोत नखुलेको उक्त रकमसहित बाँके निकुञ्जको सरकारी गाडीबाटै नियन्त्रणमा लिइएको हो । सोमबार दिउँसो पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल स्थित अख्तियारको हिरासतमा राखिएको उनले बताए ।