बारेकोट पहिरो : २४ दिनपछि मात्रै धौ-धौ पुग्यो खाद्यान्न

जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरो गएको २४ दिनपछि खाद्यन्न पुगेको छ । करिब २४ दिनको अन्तरालमा पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्ति गरिएको होे ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असार २५ गते पहिरोमा परी १४ जनाको मृत्यु र एक हजार २०० भन्दा बढी विस्थापित भएको बारेकोट गाउँपालिकामा खाद्यान्न आपूर्ति गरेको हो । बारेकोटको घाट र काउली डिपोमा खाद्यान्न आपूर्ति गरेको सो कम्पनीले जनाएको छ ।

पहिलो चरणमा ३०० क्वीन्टल चामल ढुवानी गरिएको र अन्य खाद्यान्न ढुवानी गर्ने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । पहिरोका कारण बारेकोटमा ५५ घर पूर्णरुपमा भत्किएका छन् भने एक हजार २०० स्थानीयवासी विस्थापित भई विद्यालय र खुल्ला चौरमा त्रिपाल टाँगेर बसेका छन् ।

अघिल्लो वर्ष असिनाले गहुँको बीउसम्म बाँकी नरहेको बारेकोटमा यो पटक पहिरोले अधिकांश ठाउँमा छियाछिया परेको छ । भूगर्भविदमार्फत अहिले बस्ती रहेका ठाउँमा बस्न योग्य छ कि छैन भनेर जाँच गरेर मात्र अब बस्ती बसाउने काम हुने प्रजिअ पन्तले जानकारी दिए ।

विस्थापित परिवार र भत्किएका घरको विवरण सङ्कलन कार्य करिब–करिब पूरा भएको भन्दै प्रजिअ पन्तले सबैको नाम गृहमन्त्रालयमा सिफारिस गरिने र सो ठाउँमा नयाँ घर निर्माणको काम शुरु हुने बताए । यदि कसैको घर भत्किएर नाम छुटेको भए, कुनै कारणबस पीडित भएर पनि लिष्टमा नाम सिफारिस हुन छुटेको भए तुरुन्तै प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत उनले आग्रह गरे ।