एसिड आक्रमण गर्नेविरुद्ध कडा कानुन बनाउन सरकारलाई निर्देशन
काठमाडौँ, प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड छ्याप्नेविरुद्ध दण्ड–सजायको लागि कडा कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सोमबार एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले दण्डसजाय कम भएको निष्कर्ष निकाल्दै समयसापेक्ष परिमार्जन गर्न आवश्यक देखिएको दाबी गरेको हो । समितिले सोहीअनुसार कानुन संशोधन प्रक्रिया अघि बढाउन नेपाल सरकार र गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै, समितिले एसिडको बिक्री–वितरणलाई पनि नियन्त्रित गर्न, खरिदकर्ताको अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ ।
आजको छलफलमा एसिड पीडित संगीता मगर, जेनी खड्का र मुस्कान खातुन उपस्थित थिए । पीडित खातुनले एसिड छ्याप्नेलाई जन्मकैद हुनुपर्ने माग गरेकी थिइन् । ‘हाम्रो दाग जाँदैन, जीवनभरिका लागि बस्छ, त्यसैले म भन्न चाहन्छु, अपराधीलाई जन्म कैद नै हुनुपर्छ,’उनले भनिन् ।