गढवाका अगुवा कृषकहरूका लागि एक हप्ते पशु स्वास्थ्य तालिम

देउखुरी , गढवा गाउँपालिकाका अगुवा कृषकहरूका लागि एक हप्ते पशु स्वास्थ्य(भेटनरी) तालिम आज देखि गढवामा शुरू भएकाे छ ।
नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा दाङकाे आयाेजना तथा गढवा गाउँपालिका पशु विकास शाखाकाे प्राविधिक सहयाेगमा रेडक्रस दाङ शाखाकाे समुदाय उत्थानशिलता मा अभिवृद्धि(इनकाेर) परियाेजना अन्तर्गत उक्त तालिम शुरू गरिएकाे हाे ।

तालिममा गढवा गाउँपालिकाका ८ वटै वडाका ८ महिला सहित २० जनाकाे सहभागिता रहेकाे छ । तालिमकाे प्रमुख प्रशिक्षकमा गढवा गाउँपालिका पशु विकास शाखाका प्रमुख तथा तालिमविद् हेमराज आचार्य तथा गाउँपालिकाका पशु विकास अधिकृत अनन्तराज रेग्मी रहनु भएकाे छ । कृषकहरूलाई पशुपालनमा व्यवसायिक बनाउँदै स्वराेजगार बनाउन तालिमले महत्त्वपूर्ण खेल्ने तालिमका प्रमुख प्रशिक्षक गढवा गाउँपालिका पशु विकास शाखाका प्रमुख तथा तालिमविद् हेमराज आचार्यले बताउनु भयाे । उहाँले यस तालिमबाट कम लागतमा बढी उत्पादन र सतप्रतिशत बिमा गराउने अभियानले सार्थकता पाउने बताउनु भयाे ।

 

त्यस्तै नेपाल रेडक्रस साेसाइटी दाङ शाखाका सामाजिक परिचालन अधिकृत देवी प्याकुरेलले गाउँपालिकाकाे संकटासन्न बस्तीका अगुवा कृषकहरूलाई पशु प्राबिधिक ज्ञान दिन तालिम प्रदान गरिएकाे बताउनु भयाे । उहाँले पशुपालनमा आएका समुदायस्तरका जाेखिम हटाउन आधारभूत पशु प्राबिधिककाे रूपमा जनशक्ति तयार गर्न तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयाे ।

त्यस्तै नेपाल रेडक्रस साेसाइटी दाङ शाखा कार्यक्रम सञ्चालन प्राबिधिक समिती सदस्य माेहनकुमार पाण्डेले स्थानीय अगुवा कृषकहरूलाई गाउँपालिका स्तरिय प्राबिधिकहरूकाे सहयाेगी, उपचार तथा कृषक सम्पर्क केन्द्र बनाउन तालिममा सहभागीहरूले सहयाेग गर्ने बताउनु भयाे । उहाँले बिपन्न कृषककै बीचबाट दक्षजनशक्ति बनाउने समेत बताउनु भयाे ।

नेपाल रेडक्रस साेसाइटी गढवा उपशाखाका सभापति काेकिला शाहीकाे अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवकाे प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरिएकाे थियाे ।  त्यसैगरी साेही तालिम देउखुरीकाे राजपुर गाउँपालिकाका ७ वटै वडालाई समावेश गरि राजपुरकाे सालभाैरीमा आज देखि शुरू भएकाे नेपाल रेडक्रस साेसाइटी दाङ शाखाका इनकाेर परियाेजनाका जिवीकाेपार्जन अधिकृत थानेस्वर पाेख्रेलले जानकारी दिनु भएकाे छ ।