कोरोना जोखिम बढेपछि जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा

काठमाडौँ, जनकपुरधाम उपमहानगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी एकसाता सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधामभित्र निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको छ । अत्यावश्यक सेवामा औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायातलगायत बैंकिङ क्षेत्रलाई लिइएको छ ।