कोरोनाबाट विदेशमा १ सय ८९ नेपालीको मृत्यु, भारतमा २५ जना
काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विदेशमा रहेका १ सय ८९ नेपालीको मृत्यु भएको छ ।
यो साता मात्रै थप २८ जना नेपालीको मृत्यु भएसँगै कोरोनाबा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ८९ पुगेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
उसका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ। भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र मृत्युदर पनि बढीरहेको एनआरएनएले जनाएको छ।
अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ दिल्लीमा कार्यरत डा सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको पुष्टि यो साता भएको हो।
यस्तै यही साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ। यहि साता साउदी अरबमा पनि २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।