कोरोनाबाट थप एक महिलाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५७

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । कोरोनाका कारण शनिबार साँझ वीरगञ्जकी एक वृद्धाको मृत्यु भएसँगै मृतकको संख्या ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१६ नगवाकी संक्रमित ६८ वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको हो । उनमा शुक्रबार राति कोरोनाको संक्रमण पुष्टि भएको थियो । ज्वरो र निमोनिया भएपछि उपचारका लागि साउन १३ गते बयोधा अस्पतालमा भर्ना भएकी महिलाको शनिबार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि बयोधा अस्पतालले शनिवार (साउन १७ गते) साँझ ६ बजे कोभिड अस्पतालमा पठाएको थियो । उनको कोभिड अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् । उनी मधुमेह तथा उच्च रक्तचाप रोगले पीडित थिइन् ।

यसअघि बयोधा अस्पतालमै शुक्रबार बिहान मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकै ५० वर्षीया मृतक महिलामा शुक्रबार राति संक्रमण पुष्टि भएको थियो । दुई दिनमा बयोधा अस्पतालमै दुई संक्रमितको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । देशभर कोरोनाले ज्यान गुमाउनेको संख्या भने ५७ पुगेको छ । यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ सहित देशभर २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन । आज (आइतबार) देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् । आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।