नेपाली जनताको उत्तरदायित्व कहिल्यै पुरा गर्न नसक्ने पुरानो कथा दोहोरिएको छ

अन्तर्वार्ता

पछिल्लो चरणमा युवापंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली गजको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीका लागि अमुल्य योगदान निभाई रहनु भएका चितवनका गजलकार पुष्प अधिकारी अन्जलीसंग हाम्रा साहित्य सम्पादक ‘धिरेन अनुपम’ले लिनुभएको संक्षिप्त साहित्यिक भलाकुसारी…….

१ कुसे न्युजमा यहाँलाई हार्दिक स्वागत छ ?

हार्दिक धन्यबाद ! धिरेन जी। यहाँको संयोजनमा प्रकाशित यो सबैको प्रिय कुसेन्युजमा आफ्नो कुरा राख्न दिनुभयो हृदयदेखि धन्यवाद ! आभार व्यक्त गर्दछु।

२ हिजो आज कसरी दिन वित्दै छ तपाईंको ?

– नेपाली गजलको विकास र सम्बर्धनसंगै साहित्यिक पत्रकारिताको निरन्तर अभ्यासमा जुटिरहेको छु। नेपाली गजलको इतिहासमा अर्को एउटा निरन्तरता उडान अन्तर्देशिय सँयुक्त गजलसंग्रह र हरियो ऐना गजलसंग्रह प्रकाशनको तयारीमा छु साथै हाम्रो मझेरी साहित्यिक पत्रिकाको गजल विशेषांक अङ्क ५८ अङ्क प्रकाशनको तयारीमा छु । कोरोना भाइरसको यो महामारी रोग सकिने बित्तिकै सम्भवतः हाम्रो मझेरी साहित्य प्रतिष्ठानको २२ औं वार्षिक उत्सवको तयारीमा पनि लागिरहेको छु।

३.फेशबुकमा तपाईं र म्याम देशदेखि बिदेशसम्म घुमेको फोटोहरु अपलोड गरिरहेको देखिन्छन् । यो बुढेसकालमा पनि तपाईंहरुको प्रेम यति गाढा हुनुको रहस्य केहो ? तपाईंको साहित्य लेखनिमा म्यामको संगतले मलजल पुगेको आभाष गर्नु हुन्छ कि नाई ?

मित्र धिरेन जी असाध्यै राम्रो प्रश्न गर्नुभयो धेरै धेरै धन्यवाद। जीवनको रात एक्लैले कहाँ हाक्न सकिन्छ र बाँकी पनि जीवन कहाँ सार्थक हुन्छ र ? एउटा पुरुषको जीवन सफल हुनका निम्ति आफ्नो जीवनसाथीको महत्वपूर्ण हात हुन्छ। या नारीको भूमिका बहुत महत्वपूर्ण हुन्छ । हाम्रो सँगैसँगैको सहयात्राले सामाजिक जीवन र साहित्यिक जीवन दुवैमा उदाहरणीय बन्नसक्छ। उमेरले जिबनलाई हस्तक्षेप गरे पनि मनले कहिल्यै पनि हस्तक्षेप गर्न सक्दैन् सँधैभरि मन तन्नेरी रहिरहन्छ र त सिर्जना गर्न सकिन्छ।

४. जीवन केहो जस्तो लाग्छ यहाँलाई ?

-जीवन अनुभूतिको एउटा चौतारी हो। हरेक भोगाईहरुको श्रृंखला हो।

५ कुनै बेला चितवनलाई गजलको राजधानी भनन्थ्यो। अहिले चितवनको गजलिय माहोल कस्तो छ ?

– चितवन हिजोपनि गजलको राजधानी थियो आज पनि राजधानी छ र भोलि पनि राजधानीको रुपमा स्थापित रहिरहनेछ। चितवनमा हिजो गजलको संख्यात्मक रुपमा धेरै थियो। आज यो गजल गुणात्मक पक्ष धेरै छ। समग्रमा चितवन नेपाली गजलको इतिहासमा एउटा अत्यन्त प्रशंसनीय र अध्ययनशील नगरी बनेको छ।

६ अन्य बिधाको तुलनामा गजल के हो र गजल कस्तो हुनु पर्छ भन्ने लाग्छ तपाईंको दृष्टिकोणमा ?

– वर्तमान समयमा नेपाली साहित्यमा बिभिन्न किसिमका टिका टिप्पणी भइरहेका छन्। त्यसमाथि पनि गजलमा निकै अस्वस्थ प्रतिस्पर्धा बहस र एक आपसमा हिलो छ्याप्ने काम भैरहेको छ। साहित्यका अन्य विधाहरुमा यस्तो प्रतिस्पर्धा यस्तो दुषित परिवेश देखिदैन तर नेपाली गजलका विद्वान हरुलाई यस्तो चेतना नै छैन। आ आफ्नो गुट र उपगुटको घेराबन्दी गरिराखेको इतिहास छ। यसले नेपाली गजलको इतिहासमा एउटा कालो धब्बा लाग्ने छ।

७.बहर र गैर बहरमा लेखिएका गजलहरुको सम्बन्धमा सामाजिक सन्जालदेखि लिएर कार्यक्रममा समेत डिभेड भएको पाईन्छ । तपाईंको विचारमा यो डिभेड हुन जरुरी छ या छैन के लाग्छ ?

–  नेपाली गजलको इतिहासमा पछिल्लो समय देखिएका विभिन्न अस्वस्थ प्रतिस्पर्धा अस्वस्थ बहस एकअर्काप्रति लगाइएका आरोप प्रत्यारोप र गुटबन्दी लेख गजलको भविष्यलाई कलँक लगाउन नसक्ला भन्न सकिन्न। हामीले सकिन्छ सक्नेले बहरमा लेख्नु नसक्नेले लय तुकबन्दी मिलाएर लेखौँ र त्यो पनि नसक्नेले स्वतन्त्रता लयमा काव्यिक गजलहरु लेखौं तर एक अर्कामा बिरोध नगरौँ। कसैको अपमान हुनेगरी नबोलौं। गजलको नीति सिद्धान्तमा रहेर उत्कृष्ट भाव र सशक्त विचार दिएर काव्यिक सिर्जना गर्नु नै गजलको महत्वपूर्ण न्याय हो।

८ साहित्य केहो ? साहित्यले समाज र देश लाई के दिनु पर्छ जस्तो लाग्छ यहाँलाई ?

– साहित्य भनेको देश र समाजलाई मार्गदर्शन गर्ने एउटा ऐना हो। जुन एैनाबाट हामी समाजलाई छर्लङ्ग हेर्न सक्छौँ। म चाहन्छु देशबाट हामीले के पाउँछौ भन्ने अपेक्षा गर्ने होइनन हामीले देशलाई के दिन सकिन्छ भन्ने चिन्तन सँधैभरि हामीभित्र हुनुपर्छ।

९, अहिले समाजिक सन्जालमा गजल लेख्नेहरु धेरै छन् के काफिया रदिफ मिलाएकै भरमा ती सबै गजल हुन्त ?

– यतिबेला गजल साहित्यलाई माया गर्ने असंख्य प्रतिभाहरू देखिन्छन् । ती सबै असंख्य प्रतिभाहरुले गजलको सिद्धान्त नीति नियम र आधारभूत तत्वहरुलाई समेटेर गजल लेखिरहेका छन् भन्न सकिन्न तर पनि ती प्रतिभाहरूको जोश जाँगर र उनीहरूको जुझारु पनले भोलि नेपालीको गजलमा एउटा सशक्त अन्दोलन हुनसक्ने सम्भावना भने जरुरी देखिन्छ। अहिले जुन रुपमा गलल लेख्ने प्रतिभाहरु को भीड देखिन्छ समयले त्यस भीडलाई छिचोल्दै लैजानेछ।

१०, ६० को दशक पछि अहिलेसम्म आउदा गजलको विकाँस कस्तो प्रकारको भएको पाउनु हुन्छ ?

– साठीको दशकपछि नेपाली गजलमा आएको सर्व व्यापक लहरले नेपाली साहित्यलाई व्युँझाउने प्रयास गरेको छ। हामी भनिरहेका छौं साठीको दशक नेपाली गजलको इतिहासमा एक स्वर्ण युग हो। निकै अब्बल गजलकारहरुको जन्म पनि भयको मान्न सकिन्छ ।अहिलेका गजलकारहरुको लेखनिमा निखार्ता आउनु त्यसैको निरन्तरता पनि हो भन्ने लाग्छ।

११, विचार र वर्ग साहित्यमा केहो जस्तो लाग्छ यहाँलाई ?

-साहित्यमा वर्ग र वर्गियता भन्ने हुँदैन जस्तो लाग्छ। समाज देश र जीवनका कुराहरु जस्ताको तस्तै उतार्न सक्नु साहित्य हो। साहित्यमा कुनै वर्गलाई माथि र कुनै वर्गलाई तल राखेर साहित्य लेखिँदैन ।

१२, हाम्रो मझेरी साहित्य समाज देशकै यौटा वजनदार प्रतिष्ठित साहित्यिक मन्च हो। यस संथाले साहित्यको क्षेत्रमा गरेका भुमिकाहरु केके छन् ?

– हाम्रो मझेरी साहित्य प्रतिष्ठान देशकै एउटा गरिमामय संस्था हो यसले आफ्नो द्दज्ञ२१ औं वार्षिकोत्सव सम्पन्न गरिसकेको छ। साठीको दशक देखि यता लगातार रचनात्मक र सिर्जनात्मक कार्यक्रम साहित्यिक पत्रपत्रिकाहरूको प्रकाशन नेपाली गजलमा संयुक्त गजलसङ्ग्रहको प्रकाशन को निरन्तरता र गजललाई दिइने उत्कृष्ट तीन पुरस्कार र संस्था सम्मान अभिनन्दन का कार्यक्रमहरु राख्दै आएको छ। यहाँ सम्म आइपुग्दा यस सँस्था बाट ४३ जना पुरष्कृत र १५० भन्दा बढी स्रष्टाहरु सम्मानित हुनुभएको छ।

१३, पहिले गुट उपगुट को राजनिती पार्टीहरुमा भएको देख्थ्यौ अहिले साहित्यमा पनि त्यही गन्ध आएको देख्छौ। गुट उपगुटको गुडबन्दी गरेर नेपालको साहित्य कहाँसम्म जान्छ जस्तो लाग्छ ? यस्लाइ रोक्न तपाईंको के भुमिका रहन्छ ?

( राजनीतिक क्षेत्रमा गुट उपगुटको हुनु स्वभाविक हो । यसले शासन सत्ताको उपभोग स्वार्थको लोलुपतामा हुनेगर्छ। राजनीतिमा भागबन्डा र गुट उपगुटको खेलले नै राज्यसत्ता एकाधिकार गर्न सकिन्छ भन्ने दुर्गन्धित विचार रहिआएको छ। तर साहित्यमा राजनीतिमा जस्तै फोहोरको दुर्गन्ध चलखेल हुनु राम्रो होइन।गुटउपगुट र विभाजन हुनु राम्रो होइन आज जुन रुपमा यस्तो चलखेल देखिएको छ यसले नेपाली साहित्यलाई माथि उठाउन सक्दैन। हामी जुन विश्व साहित्यसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता खोजिरहेका छौं त्यो काव्यिक चेतना खोजिएका छौं यदि राजनीतिमा जस्तै फोहोरी खेल साहित्यमा भयो भने यसले सम्पूर्ण बाटोहरु बन्द गरिदिन्छ। साहित्यमा प्रतिस्पर्धा गर्नुछ भने आफैंले आफ्नो साहित्यसँग आफ्नो लेखन धर्निता सँग प्रतिस्पर्धा गर्ने हो अरु कसैसँग होइन भन्ने लाग्छ। हाम्रो मझेरी साहित्य प्रतिष्ठान कसैसँग अस्वस्थ प्रतिस्पर्धा गर्न चाहँदैन र गर्दैन पनि।

१४ गफले लंका कब्जा गर्ने मौसमी साहित्यकारलाई के भन्नू हुन्छ ?

( साहित्य राजनीति जस्तो झुट को खेति गर्ने ठाउँ होइन ‌। यो कुनै होटल रेस्टुरेन्ट र गल्ली चोकहरूमा बसेर गफाडिको गफमा भाषाको खेती गर्ने ठाउँ पनि होइन। समाज देश र जनताप्रतिको उत्तरदायित्व आफ्नो जीवन र जगतलाई स्वच्छ र सुन्दर बनाउनका निम्ति साहित्यकार कविले हरदम रचनात्मक सिर्जनात्मक र अध्ययनशील भएर सोच्नु जरुरी छ। कुरा गरेर भन्दा काम गरेर देखाउनु र सबैको मन छुन सक्ने उत्कृष्ट लेखन गरेर समाजलाई एउटा नयाँ दिशा मार्गनिर्देश गर्न सक्नु नै एउटा राम्रो साहित्यकारको महत्वपूर्ण भूमिका हो। म चाहन्छु सबै अध्ययनशील र सिर्जनशील सँगसँगै अनुशासित र मर्यादित बनेर नेपाली भाषा साहित्यको सेवा र संरक्षणमा लागिरहन सबैलाई हार्दिक निवेदन पनि गर्दछु।

१५ बहरमा पनि गजल लेखियो र गैर बहरमा पनि गजल लेखियो तर विम्ब,बिचार र भावको दुरबर्लता छ भने त्यस्ता गजललाई गजलको बरियतामा राख्नु हुन्छ या राख्नु हुदैन ?

– राम्रो प्रश्न गर्नुभयो धेरै धेरै धन्यवाद। एउटा कवि एउटा लेखक एउटा गजलकारले सकेसम्म आफूले भएसम्म काव्यिक क्षमता प्रस्तुत गर्नु नै उसको जिम्मेवारी पनि हो। बहरमा गजल लेख्ने भनेर अर्थ न बर्थ का गजल बनाउनु वहियात हो बहरमा लेखिएका गजलहरूको विषयवस्तु भाव शशक्त बिचार र अभिव्यक्ति कला साथै शब्द भावमा आउनुपर्ने सौन्दर्य बिम्ब आएन भने त्यो गजल जस्तो मात्र हुने छ। गजलमा आउनुपर्ने भाव शशक्त बिचार राम्रो बिषयबस्तु भयो भने त्यो गजलको उत्कृष्टता भित्र पर्दछ। भावको उत्कष्टता गजल को प्रधान पक्ष हो।

१६, गजल , गजल जस्तो हुनको लागि केको आवश्यक पर्छ जस्तो लाग्छ यहाँलाई ?

–  गजल वास्तवमा गजल हुनका लागि सबैभन्दा उत्कृष्ट भाव शैली बिचार र बिषयबस्तु हुनुपर्छ। गजलमा आवश्यक आधारभूत तत्वहरुलाई हृदयदेखि मनन गर्नुपर्ने हुन्छ।

१७, तपाईं कै गृह जिल्ला चितवन चेपाङ बस्तीमा राज्य पक्षबाट भएको हर्कतलाई कसरी लिनु भएको छ र यौटा साहित्यकारको नाताले सरकारलाई के भन्नु हुन्छ ?

– यस विषयमा अनभिज्ञ रहेँ । तर यतिबेला देशमा सरकार नभएको कानुन नभएको र निरङ्कुश शासनको चक्रव्यूहमा नेपाली जनताहरु फसिरहेको जस्तो लाग्छ। समयले नेपाली जनताको उत्तरदायित्व कहिल्यै पुरा गर्न नसक्ने पुरानो कथा दोहोरिएको छ।

१८,अन्तमा मैले सोध्न भुलेका र तपाईंले राख्न खोजेका केही बिषय बस्तु छन् भने राख्न सक्नु हुनेछ यहाँले ?

– धेरै धेरै धन्यवाद आभार व्यक्त गर्दछु धिरेन जी। मलाई तपाईले दिनुभएको माया विश्वास र आत्मीय हौसलाले उर्जा थपिएको अनुभूति भैरहेको छ। जिम्मेवारी बढिरहेको महसुस भैरहेको छ। हार्दिक आभार व्यक्त गर्दछु। सम्पूर्ण टिमलाई र मेरो यो सम्वाद पढ्नुहुने समस्त साथीहरूलाई हार्दिक नमन गर्दछु। मलाई अझै थप प्रेरणा हौसला मिल्नेछ विश्वास व्यक्त गर्दछु। धन्यवाद!

गजल

कसैले मेरो योग्यता जानी(नजानी बिर्सिए ।
मेरा यी चोट र घाउहरुको कहानी बिर्सिए।

जसले सधैं कुरा काटीरहे, खुट्टा तानीरहे।
उनैले शिखर चढाएको मेरो लगानी बिर्सिए।

जो भ्रष्ट छ उसैलाई अख्तियारमा पठाएर ,
सरकारले बिचरा सहीदहरुको खरानी बिर्सिए।

जसले अँध्यारो छोपेर उज्यालो बनाएथ्यो ,
उनैका संतानले यो सुनौलो बिहानी बिर्सिए।

जो बचपनदेखि अरुको काँधमा टेकेर हुर्कियो,
आज उसैले पुष्पले दिएको निशानी बिर्सिए।