पर्सामा एकजना सांसदसहित ६४ जनामा कोरोना संक्रमण

वीरगन्ज, पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षक सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले सांसद यादव सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

नारायणी अस्पतालमा गरिएको नमुना परीक्षणमा सांसद यादव सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसको पुष्टि यादवले शुक्रबार राति आफ्नो फेसबुक पेजमार्फत समेत गरेका छन् ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसेर आराम गरिरहेको छु । कोरोना मुक्त भएर मेरो प्राण भन्दा प्यारो जनताको सेवामा चाँडै फर्कने छु ।’

शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जनामध्ये ६१ जना पुरूष र ३ जना महिला रहेको नारायणी अस्पतालका प्रमुख उपाध्यायले बताए । संक्रमित १५ वर्षदेखि ६८ वर्षसम्मका छन्। शुक्रबार राति संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी पनि छन् । यो संगै पर्सामा हालसम्म ४ सय ६२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

यसअघि बिहीवार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण देखिएको थियो । यसको पुष्टि मेयर सरावगीले आफ्नो फेसबुक पेजमार्फत गरेका थिए ।