क्वारेनटाइन हटेपछि दाङको गढवामा त्रास, रातारात मान्छे भागा–भाग

देउखुरी, कोभिड १९ को महामारी चलिरहेकै बेला गढवा-६ रामपुरका मुस्लिम भरठरीको घरमा भारतबाट आफ्नै ज्वाई आए । ज्वाई आएपछि किन आउनु भो भन्न पनि नमिल्ने, छुट्टै कोठामा ओछ्यान लगाएर बस्न लगाए । एकैछिनपछि गाउँलेहरु जम्मा भए । वडा अध्यक्ष र पुलीस पनि आएर संझाउन थाले यस्तो बेलामा किन आएको–गढवा ६ रामपुरका मुस्लीम भरठरीले भने । मेरा ज्वाई मोहम्मद सफिक एकरात अलग कोठामा सुतेर बिहान भाले नबास्दै भागेर इण्डीया गए ।

त्यस्तै सोही गाउँका हारुन जोगी पनि बिहीबार साँझ भारतबाट सिधै आफ्नो घरमा आए । एकै छिनपछि गाउँलेहरु त्रसित भएर गाउँमा गाइगुइ फैलिएपछि मानिसहरु भेला हुन थालेको देखेर राती १० बजे भागेर अर्को गाउँमा गएर रात काटे । यत्तिमात्र होइन गढवा ६ को हाँसीपुर निवासी जिवन आचार्य केहिदिन अघि दुबहीबाट घर आए । प्रहरी कार्यालयमा भेटेर क्वारेण्टाइनमा बस्न खोज्दा उनलाई पनि होम क्वारेण्टाइनमा बस्न लगाइयो । गाउँमा पुग्दा गाउलेहरुमा त्रास फैलियो ।

गाउँलेहरुले वडाध्यक्ष र गाउँपालिकाका स्वास्थ्य संयोजकलाई फोन गर्दा होम क्वारेण्टाइनमै बस्न आग्रह गर्नुभयो–स्थानीय बिष्णु आचार्यले भन्नुभयो । सरकारले क्वारेण्टाइन हटाएपछि बिदेशबाट सोझै मानिसहरु गाउँ आउन थालेपछि गाउँघरमा त्रास बढेको उहाँले बताउनुभयो । सरकारले क्वारेण्टाइनको अबधारणा हटाए संगै गाउँ-गाउँमा त्रास फैलिन थालेको छ । देउखुरीको गढवामा देश–बिदेशबाट आउने नागरिकहरु सिधै आ–आफ्नो घरमा जान सुरु गरेका छन् ।

गाउँमा पुगेपछि गाउँलेहरुले घेराबन्दी गर्दा कोही रातारात भाग्ने र अर्को ठाउँमा जाने गर्न थालेका छन् भने कोही होम क्वारेण्टाइनमै बसिरहेको पाइएको छ ।यता गढवा गाउँपालिकाले भने सरकारको निर्णय बमोजिम बिद्यालयमा पठन–पाठन सुरुगर्न क्वारेण्टाइन हटाउन थालिएको र बाहिरबाट आउने नागरिकहरुलाई होम क्वारेण्टाइनमा बस्न आग्रह गरेको छ ।