दाङको गढवामा शवदाह प्रतिक्षालय बनाउन जुटे गाउँलेहरु
गढवा , देउखुरीकाे गढवा गाउँपालिका वडा नं. १ बडहरा, बनघुस्री र बनवारीका नागरिकहरुले चन्दा संकलन गरेर शबदाहा प्रतिक्षालय बनाउन जुटेका छन् । त्यस ठाउँका स्थानीयहरूले अभियान नै सञ्चालन गरेर राप्तीनदी बौराहा खोलाको संगममा शबदाहा स्थलमा मलामी बस्ने प्रतिक्षालय बनाउन जुटेका छन् ।
स्थानीय सामाजिक अभियन्ता दिलबहादुर महतराको नेतृत्वमा सो अभियानमा तीनै गाउँका गाउँलेहरु जुटेको स्थानीय समाजसेवी खुसल मगरले बताए । यसैबीच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष तथा पूर्व सभासद् रश्मीराज नेपालीले संयुक्त रुपमा सो प्रतिक्षालयको एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बाेल्दै पूर्व सभासद् नेपालीले तीन गाउँको यो अभियान भबिष्यका दिनमा धेरै गाउँहरुको लागि महत्वपुर्ण उपयोगी स्थल बन्न सक्ने बताउँदै आफूले यो अभियानलाई सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष यादवले यो अभियानले तीन गाउँका नागरिकहरुलाई एकताको शुत्रमा बाध्ने र यस क्षेत्रमा हरियाली प्रबर्धनका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताए ।
उक्त प्रतिक्षालय बनाउन स्थानीय समाजसेवी दिलबहादुर महतराले ५ हजार, खुसल मगरले २५ हजार, जयन्ती ग्याबिङ कण्टक्सनले १० हजार र अन्य स्थानीयहरुले पनि यथासक्य रकम संकलन गरेको कार्यक्रममा बताइएको थियो । उक्त कार्यक्रमको संञ्चालन अर्जुनकुमार यादवले गरेका थिए ।