पहिलो पटक बिद्युत्त पुग्दा नाकाबासी हर्षित साकार बन्दै उज्यालो गढवा अभियान

देउखुरी,  हाम्रो गाउँमा बिजुली कहिले आउला र मकै पिस्न भारतको वालापुर जाने समस्या कहिले टर्ला भनेर जिवनभर प्रतिक्षा गरेका गढवा ८ मुसीनाकाका बासिन्दाहरुको सपना पुरा भएको स्थानीय कर्णबहादुर थापाले बताए  । गाउँमा बिजुलि थिएन,भारतबाट मट्टीतेल ल्याएर टुकी बाल्दै जिवन गुजारा गरियो,लामो प्रयासपछि गाउँपालिका तथा वडाले बिद्युत्त लाइन बिस्तार गरि बिजुली बाल्न पाउने अबसर दियो,यो अबसर हाम्रालागि दुर्लभ थियो–मुसीनाकाका स्थानीय चन्द्र बिकले भने ।

थापा र बिक जस्तै सशस्त्र प्रहरीवल मुसीनाकाका सइ झग्गु वली पनि ब्यारेकमा बिजुली बत्ती बाल्न पाउँदा खुसी भएको बताए  । मकै पिस्न र मोबाइल चार्ज गर्न भारतको बालापुर जानु पर्दथ्यो अब यो बाध्यता टरेको छ । आफ्नै गाउँमा मिल राखेर सबैलाई सुबिधा दिने मुसीनाकाका अभिनास बुढामगरको धोको छ । यसअघि मुसी नाकामा रहेको प्रहरी चौकी र शसस्त्र प्रहरी वलको क्याम्प पनि सोलार बत्तिको साहारामा चलेको र स्थानीय बासिन्दाको दिनचर्या टुकी र दियालोमै चलेको वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताए ।

चुनाब जित्नुअघि जनतासंग बोलेको बचन पुरा भएको छ,स्थानीय नागरिक जत्ति खुसी छन् म पनि झनै खुसी छु–सिद्दिकीले भने । गढवा गाउँपालिकाको १० लाख र वडा कार्यालयको ३५ लाख गरि कुल ४५ लाखको लागतमा मुसीनाकामा बिद्युत्त बलेको हो–उनले बताए ।

गढवा गाउँपालिकाको उज्यालो गढवाको अभियान साकार बन्दै गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । बिद्युत्त नपुगेका नेपाल भारतका सिमा क्षेत्रहरु लगायत धेरै स्थानहरुमा बिद्युत्तको पहुँच पर्याउने अभियान अन्तर्गत तिन बर्षभित्र गढवाका अधिकांश स्थानहरुमा बिद्युत्तको पहुँच पुगेको गाउँपालिकाले जनाएको छ । अब वडानं. २ को नेपाल भारत सिमानाका सालभौंरी र वडानं. ८ को घङरोल सिमानाकामा मात्र बिद्युत्त पुग्न बाँकी छ त्यसका लागि पनि योजना अगाडी बढाउने अध्यक्ष सहजराम यादवले बताए ।

जस अन्तर्गत गढवाको चिमचिमेमा बिद्युत्त बिस्तारको अभियान चलिरहेको छ भने कोइलाबास देखि खबरीनाका हुदै भौवानाका जोड्ने बिद्युत्त लाइन बिस्तारको काम अगाडी बढीरहेको वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताए । गढवा गाउँपालिका र नेपाल बिद्युत्त प्राधिकरणसंगको समन्वय सहकार्यमा यसबर्ष खबरीनाका सम्म बिद्युत्त बिस्तार हुदै गरेको र सो अभियान भौवानाका सम्मको रहेको उहाँले बताउनुभयो । वडा कार्यालयको ३० लाख बजेटबाट काम अगाडी बढ्दै छ त्यसमा बिद्युत्त प्राधिकरणको पनि लगानी छ वडा अध्यक्ष सद्दाम सिद्दिकीले भने ।

गतबर्ष वडानं. ६ को खबरीमा बिद्युत्त पुगेको र हालै वडानं. ८ को दुर्गम भूगोल मुसीनाकामा बिद्युत्त पुगेर उद्घाटन समेत भएको गाउँपालिकले जनाएको छ । यसैगरी गढवाको धानखोला देखि कालाकाटे,गोबरडिहा,गढवा हुदै कोइलाबास बजारक्षेत्रमा सोलार सडकबत्ती संचालनमा आएको छ भने यसबर्ष गढवाको बजार क्षेत्रमा सोलार सडकबत्ती जडानगर्न बजेट समेत बिनियोजन भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका बिभिन्न वडाहरुमा सिंचाइका लागि समेत धेरै स्थानमा बिद्युत्तको पहुँच बिस्तार गरिसकेको अध्यक्ष सहजराम यादवले बताए ।

यसैबिच नेपाल भारतको सिमा क्षेत्रमा रहेको मुसीनाकामा एक कार्यक्रमका बिच बुधवार बिद्युत्तको वालेर उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडानं. ८ का वडाअध्यक्ष सद्दाम सिद्दिकी र नेपाल बिद्युत्त प्राधिकरण गढवा शाखाका प्रमुख काँसी चौधरीले संयुक्त रुपमा बिद्युत्तको स्विच थिचेर उद्घाटन गरेका हुन । लामो प्रयासपछि मुसीनाकामा बिद्युत्त पुगेपछि स्थानीयबासी खुसी भएका छन् ।