सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४,३८४
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई सय जनाको परीक्षणमा डोटीका ३७ जना, कैलाली र कञ्चनपुरका आठ/आठ जना र डडेल्धुराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
पछिल्लो २४ घण्टामा भएको परीक्षणमा सबैभन्दा बढी डोटीको आदर्श गाउँपालिकमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तिनमा १४ महिला र २३ पुरुष छन् भने एक वर्षमुनिका चारजना शिशु रहेको श्रेष्ठले बताए।
कैलालीको भजनी नगरपालिकाका तीन पूरुष र दुई महिला छन्। बर्दगोरीया गाउँपालिकाका दुई पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ। उता, कञ्चनपुरको भीमदत्त नगरपालिकाका चार पुरुष र एक महिला तथा बेलौरी नगरपालिकाका दुई पुरुष र एक महिला र डडेल्धुराको परशुराम नगरपालिकाका चार पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका दुई हजार आठ सय ७३ जना डिस्चार्ज भइसकेका छन् भने नौ जनाको मृत्यु भएको छ।