मोरङका ४५ वर्षिय कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५२

काठमाडौँ,  विराटनगरबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो कोशी अस्पताल विराटनगरबाट धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

बुधबार अपरान्ह सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्त्ति को विपीमा उपचारका क्रममा साझ मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । विराटनगरबाट समन्वय नगरी लगिएका पुरूषलाई भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको उनले जानकारी दिए।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक व्यक्ति मोरङ जिल्लाका हुन् । उनी बुधबार दिउँसो १ बजेतिर अत्यन्तै सिकिस्त अवस्थामा कोशी कोभिड-१९ अस्पतालबाट प्रतिष्ठान आएको सापकोटाको भनाइ छ ।

समन्वय नगरी एम्बुलेन्स चालकले लिएर संक्रमित आएको भन्दै उनको भर्नामा पनि ढिलाई भएको थियो । योसँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मृत्यु हुने प्रदेश १ का पहिलो व्यक्ति हुन् । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ का थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।