थप २१० जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १४ हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४६ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म ७२.७ प्रतिशत संक्रमितहरु निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ४९ जनाले ज्यान गुमाईसकेका छन् ।

यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको छ । हाल मुलुकका २८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।