दाङको गढवामा सर्पदंश उपचार केन्द्र केही दिनमै सुचारु हुने

दाङ, दाङको गढवा गाउँपालिकाले अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र अबको केही दिनमै औपचारिक रुपमा सुरु हुने भएको छ ।
गाउँपालिकाको विशेष लगानी र सरोकार निकायसँगको सहकार्यमा सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न भई संचालनको अन्तिम तयारी भईरहेको छ । विषालु सर्पका कारण वर्षेनी अकाल ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र संचालन गर्न लागेको हो ।

केन्द्रिय सरकारले कागजी प्रकृयाको स्वीकृति प्रदान गरिसकेको र प्रदेश सरकारले उपचारका लागि चाहिने स्नेक एन्टीभेनम सहयोग गर्ने भएपछि सर्पदंश उपचार केन्द्र संचालनमा सहज हुनेछ भएको छ । अबको दुई दिन भित्रमा प्रदेश सरकारको आपूर्ति केन्द्रबाट प्रथम चरणमा कम्तिमा ३ सय डोज उपचारमा अति आवश्यक पर्ने स्नेक एन्टीभेनम ल्याउन लागिएको स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले जानकारी दिईन् ।

सर्पदंश उपचार केन्द्र संचालनका लागि प्रदेश र केन्द्रसँग स्वास्थ्य कार्यालय दाङले समन्वन्वयात्मक काम गर्दै आएको छ । स्वास्थ्य कार्यालय दाङकी प्रमुख पौडेलले सर्पदंश उपचार केन्द्र संचालन गर्न आवश्यक सबै मापदण्ड पूरा गरी स्वीकृतिका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरिएकोमा सबै प्रकृया पूरा भई स्वीकृत भईसकेको बताईन् । उनका अनुसार अबको एक साताभित्रमा सर्पदंश उपचार केन्द्र विधिवत रुपमा संचालनमा आउने छ ।

सो क्षेत्रमा सर्पदंश उपचार केन्द्र संचालनमा आएपछि गढवा, राजपुर, राप्ती गाउँपालिका र लमही नगरपालिका लगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ मिल्ने छ । यसका साथै जिल्ला प्यूठान, कपिलबस्तु, अर्घाखाँची, बाँके, सल्यान, लगायत छिमेकी मुलुक भारतका नागरिकले पनि उपचार सेवा पाउने छन् । सर्पदंशका कारण अकाल ज्यान गुमाउनु पर्ने पीडाबाट अब मुक्ति पाईने स्थानीयले बताए ।
गढवा गाउँपालिकाको १ करोड र अरु सहयोगीहरुको गरी करीव सवा करोडको लागतमा बनेको उक्त उपचार केन्द्र संचालनका लागि रिपुमर्दन गण घोराहीबाट नेपाली सेनाको एक प्राविधिक टोलीसमेत परिचालन भईसकेको छ । रक्षा मन्त्रालयसँग समन्वय गरी उपचारमा खटिने नेपाली सेनाको प्राविधिक टोलीको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।

उनले गाउँपालिकाको तर्फबाट सर्पदंश उपचार केन्द्र संचालनका लागि कुनै कसर बाँकी नराखिएको बताए । उनले विरामीको उपचार खर्च सबै गाउँपालिकाले व्यहोर्ने बताए । नागरिकको स्वास्थ्य संग जोडिएको अत्यन्तै गम्भीर विषयमा गाउँपालिकाले सर्पदंश उपचार केन्द्र छिटोभन्दा छिटो संचालनको तयारी गरेको उनले बताए ।

हिउँदमा भन्दा गर्मी याम तथा वर्षायाममा सर्पको बढी बिगबिगी हुने गर्दछ । गढवा, राजपुर, राप्ती लमही क्षेत्रमा सर्पदंशका कारण वर्षेनी कैयौंको अकाल ज्यान जाने गरेको छ । जिल्लामा आर्थिक बर्ष २०७६/०७७ मा मात्रै १५ जनाको सर्पदंशबाट ज्यान गएको थियो । गढवा गाउँपालिकामा मात्र ५२ जनालाई सर्पदंश भएको थियो ।

जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई जिल्ला बाहिर गोरुसिंगे या नेपालगंज पठाउनु पर्ने बाध्यता थियो । जसका कारण समयमै उपचार नपाउँदा धेरैको अकाल ज्यान जाने गरेको छ । केही दिन अघि मात्रै राप्ती गाउँपालिकाका एक बालकलाई सर्पले डस्दा समयमा उपचार हुन नसकेपछि ज्यान गएको थियो ।