विप्लव समूहका तीन जना कार्यकर्ता पक्राउ

दार्चुला , जिल्ला प्रहरी कार्यालय दार्चुलाले दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष धनिराम लावडसहित विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्ने थप दुई जनामा जिल्ला कार्य समिति सदस्यहरु प्रताप ओड र चक्रमान विक रहेका छन्।

जनमुक्ति पूर्वसेनासमेत रहेका शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलाका चक्रमान विक (लोहार), सोही वडाका प्रताप ओड र वडा नम्बर ३ का धनिरामलाई उनीहरुकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रशाद जोशीले जानकारी दिएका छन्।

उनीहरुबाट प्रतिबन्धित कागजपत्र, पार्टीका पोस्टर पम्पलेट, चन्दा उठाएका रसिद, कम्ब्याट लगायतका सामग्री बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए। पक्राउ परेका तीनै जनाविरुद्ध राज्य विद्रोहको मुद्दा दर्ता भएको छ। आइतबार पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान गर्न ६ दिन म्याद थपिएको छ।

उनीहरु स्थानीय स्तरमा क्रियाशील रहेको र गत ८ गते शैल्यशिखर वडा नम्बर ९ का वडा सचिवको मोटरसाइकल जलाउने कार्यमा समेत संलग्न रहेको प्रहरीको भनाइ छ। उक्त दिन बेलुका ५ बजे विज्ञप्ति निकालेर बन्द सफल भएको सार्वजनिक गरे पनि विप्लव कार्यकर्ताहरुले राति १० बजेतिर वडा सचिवको मोटरसाइकल जलाएको प्रहरीको आरोप छ। नेता ओमप्रकाश पुन पक्राउ परेको विरोधमा विप्लवले सो दिन बन्दको आह्वान गरेको थियो।