नेकपाको स्थायी कमिटी बैठक फेरि अनिश्चितकालका लागि स्थगित
काठमाडौँ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) बस्ने भनिएको स्थायी कमिटी बैठक एकाएक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति नजुटेको भन्दै अर्को बैठकको मिति नतोकी स्थगित गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच छलफल र परामर्श हुन नसकेकाले बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।
‘पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले भने, ‘आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको हो ।’
आज बस्ने भनिएको बैठकअघि दुई अध्यक्षले आफू निकटका सचिवालय तथा स्थायी कमिटी सदस्यसँग छलफल गरेका थिए । बैठक ११ बजेका लागि बोलाइएको थियो ।