कर्णालीमा ४ जनामा कोरोना पुष्टि, ११ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा मंगलबार चार जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल–पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमध्ये सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं. २, ८ र ९ का एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै दैलेख अस्पतालको पीसीआर प्रयोगशाला गरिएका परीक्षणमध्ये चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ७ का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कुल संक्रमितको सख्या एक हजार नौँ सय १४ जना पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज नै सुर्खेतको प्रदेश अस्पतालबाट एक जना, गुर्भाकोटबाट दुइ जना, दैलेख अस्पतालबाट चार जना र रुकुपश्चिमबाट चार जना गरी कुल ११ जना आइसोलेसनबाट डिस्चार्ज भएकाको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार ६ सय ६९ जना पुगेको छ ।