ओलीको अनुपस्थितिमा सकियो बालुवाटार बैठक : सहमति जुटाउने जिम्मा ‘प्रचण्ड’

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बहुमत स्थायी समितिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी वैठक रोक्न एकतर्फी रुपमा गरेको निर्णय विधिसम्मत नभएको ठहर गरेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यको बालुवाटार वैठकले यस्तो निर्णय गरेको हो । २९ जना स्थायी कमिटी सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागी बैठकले आजै बिहानका लागि डाकिएको बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय विधि सम्मत नभएको ठहर गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै बैठकले स्थायी कमिटीको अर्को बैठक आवश्यक रहेको भन्दै यसका लागि मिति तय गर्न ओलीसँग दाहालले छलफल गर्ने पनि निर्णय गरेको जानकारी दिएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीसँग सहमति गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए ।

‘यस विषम् परिीस्थतिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचालु गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने ।

बैठकमा पार्टीको सल्लाहकार परिषद्का अध्यक्ष तथा अनुशासन कमिटीका अध्यक्ष अमृत बोहोरा पनि सहभागी थिए । बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूले अघि सारेको ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष दाहालले बैठकअघि प्रधानमन्त्री ओलीसँग भएको कुराकानीबारे बताएका थिए ।

उनले यो बैठकलाई बहुमत स्थायी समिति सदस्यको बैठक भन्नुपर्ने पनि बताएका थिए । सचिवालय सदस्य रामबहादुर थापा तथा स्थायी कमिटी सदस्यहरु लेखराज भट्ट र मणि थापा बैठकमा सहभागी थिएनन् ।

प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष ओलीलाई बैठकमा आउन आग्रह गरे पनि उनले अस्वीकार गरेको जानकारी दिएका छन् । पार्टीमा प्रचण्ड समूहको बहुमत हुँदाहुँदै पनि किन अनिर्णित हुनु भएको हो भन्ने पत्रकारको प्रश्नमा उनले बहुमतका आधारमा नभई सहमतिका आधारमा अगाडि बढ्न चाहेको बताएका थिए ।