नेकपा स्थायी कमिटी बैठक प्रचण्डको अध्यक्षतामा सुरु, ओली अनुपस्थित
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठक सुरु गरेका छन्।
ओलीलाई भेटेपछि बालुवाटारमा नै दाहालको अध्यक्षतामा बैठक सुरु भएको एक नेताले जानकारी दिए। केहीबेर छलफल गरेर दाहाल र वरिष्ठ नेता झलनाथ खनाल ओलीलाई भेट्न पुगेका थिए। दाहालका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्रीसँगको भेटपछि नेकपा स्थायी कमिटीको बैठक सुरु भएको जानकारी दिए।
आज बिहान ११ बजेका लागि तोकिएको बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेपछि दाहाल–नेपाल पक्ष आक्रोशित बनेको थियो। छलफल र परामर्श बिना नै बैठक स्थगित भएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री ओलीले तयारी नपुगेको भन्दै एकतर्फी रुपमा स्थगित गरेका थिए । बैठक स्थगित भएपछि प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । त्यसपछि बैठक पुनः सुरु भएको हो ।
मंगलबार मात्र उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन र दुवै अध्यक्षको शक्ति सन्तुलनका लागि ६ बुँदे सुझावसहितको विज्ञप्ति सार्वजनिक गरेका थिए ।