कोरोनाबाट नेपालमा थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८

काठमाडौँ , नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषा जिल्लाको शहीदनगर नगरपालिका-८ डुमरियाका ३८ बर्षीय युवक रहेका छन् । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका ती युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । स्वाब परिक्षण गरेकोमा आज नै उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै, वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी भारतीय नागरिक हुन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ हो । मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो ।

बाराका ६० वर्षिय पुरुषको पनि आज कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।