कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी, देशभर २८९ जना संक्रमित
काठमाडौं, पछिल्लाे चरणमा सुरक्षाकर्मीहरुमा कोरोनाको संक्रमण बढ्दै गएको छ । आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका १३ जना प्रहरी कर्मचारी र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाका पाँच चालक, अन्य शाखाअन्तर्गतका तीन चालक, सञ्चार निर्देशनालयको मेसमा कार्यरत एक सहयोगीसहित दुई प्रहरी तथा डीआईजी र एसएसपीका दुई निजी चालक गरी १३ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबारै प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ र पछिल्लो एक सातामा झापाको काँकडभिट्टास्थित सीमा सुरक्षा बेसक्याम्पमा कार्यरत २० जनामा संक्रमण पुष्टि भएको थियो ।
शनिबार मात्रै इलाममा कार्यरत सशस्त्रका ५ र प्रहरीका एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।
अहिलेसम्म देशभर २ सय ८९ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको सुरक्षा निकायहरुले जनाएका छन् । जसमा जनपथ प्रहरीका १ सय १९ जना छन् भने सशस्त्र प्रहरीका ९१ र नेपाली सेनाका ७९ जनामा छन् ।
संक्रमितमध्ये जनपथ प्रहरीका २४ जना उपचाररत छन् भने ९५ जना निको भएर फर्किएका छन् । सशस्त्र प्रहरीका २६ जना उपचारत छन् भने ६५ जना निको भएर फर्किएका छन् । नेपाली सेनाका ९ जनाको उपचार भइराखेको छ भने ७० जना निको भएका छन् ।