कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण

सुर्खेत, सरकारले लकडाउन अन्त्य भएको घोषणासँगै मानिसको आवागमन बढ्दा देशभर कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा आठ बालबालिकासहित थप ३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित २८ जना दैलेख, दुई जना सल्यनका र एक जना सुर्खेतका हुन् । दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ६ मा २ र ८ वर्षीय २ जना बालक, ५ देखि १३ वर्षसम्मका ४ जना बालिका, ३३ देखि ३८ वर्षसम्मका ३ पुरुष र ३० र ३२ वर्षका २ जना महिलमा संक्रमण पुष्टि भएको छ ।

यस्तै वडा नम्बर १० मा २ वर्षका एक बालक, ३ वर्षीया एक बालिका, २३ देखि ६३ वर्षसम्मका ८ जना पुरुष र २० देखि २५ वर्षसम्मका ३ जना महिलामा संक्रमण पुष्टि भएको छ । दुल्लुकै वडा नम्बर १२ का २२ देखि ३० वर्षका ३ जना पुरुष र ५५ वर्षीया एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुर्खेतको चिङ्गाड गाउँपालिकाका एक जना र सल्यानको कुमाख गाउँपालिकाका दुई जना छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९१० पुगेको छ । यस्तै कर्णालीमा सोमबार मात्रै १४ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६५८ पुगेको छ । २४६ सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।